अपडेटः मुगु बस दुर्घटनामा मृत्यु भएका ३२ मध्ये चार जनाको सनाखत

मुगु । मुगुमा भएको बस दुर्घटनामा परी मृत्यु भएका ३२ मध्ये चार जनाको सनाखत भएको छ ।

मृत्यु भएकामध्ये सनाखत हुनेमा बस चालक दलबहादुर रावल, मुगु छायानाथ नगरपालिका १ का १८ वर्षीय चन्द्रप्रसाद भाम, वडा नं ७ का १२ वर्षीय आदित्यबिक्रम शाही र वडा नं ८ का टोपबहादुर विष्ट रहेका छन् । अन्यको सनाखत भइनसकेको प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक जीवन लामिछाने बताए।

दुर्घटनामा २४ जनाको घटनास्थलमै, ४ जनाको उद्धार गरी ताल्चा विमानस्थल पुर्‍याउने क्रममा र ४ जनाको उपचारका लागि नेपालगञ्‍ज पुर्‍याएपछि मृत्‍यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका हरी निरीक्षक लामिछानेले जानकारी दिए ।

नेपालगञ्जबाट मुगु सदरमुकाम गमगढी जाँदै गरेको भे१ख ३१६७ नम्बरको बस आज दिउँसो करिब २ बजेतिर छायाँनाथ रारा नगरपालिका–७ स्थित पिनाटपने खोलामा दुर्घटना भएको थियो ।

प्रहरीको प्रारम्भिक अनुसंन्धानअनुसार चालकतर्फको टायर पञ्चर भई दुर्घटना भएको हुनसक्ने अनुमान छ । यद्यपि दुर्घटनाको कारण थप अनुसन्धानबाट मात्र यकिन हुने प्रदेश प्रहरी कार्यालयले जनाएको छ । बस सडकबाट अन्दाजी ३०० मिटर तल खसेको थियो । नेपालगञ्जबाट सोमबार छुटेको उक्त बसमा ४५ यात्रु सवार थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार