सवारी दुर्घटनामा मृतकका परिवारलाई राहत दिन प्रचण्डको आग्रह

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सडक दुर्घटनामा परी मुत्यु भएका परिवारलाई उचित क्षतीपूर्ती दिन सरकारसंग आग्रह गरेका छन् । उनले दुर्घटनामा घाइते भएकाहरुको निःशुल्क उपचारका गर्न पनि सरकारसँग आग्रह गरेका छन् ।

आज विहान एक शोक वक्तव्य जारी गर्दै अध्यक्ष प्रचण्डले देशका मुगु, कास्की, अछाम लगायतका ठाउँमा भएका सडक दुर्घटनामा परी मुत्यु भएका परिवारलाई उचित क्षतीपूर्ती र घाइतेहरुको निःशुल्क उपचारका लागि सरकारसँग आग्रह गरेका हुन् ।

विजया दशमीको मुखमा देशका विभिन्न भागमा भएका सडक दुर्घटनाका खबरले मर्माहत बनाएको पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले बताए ।

‘विजया दशमीको मुखमा हिजो मुगुमा भएको भयानक बस दुर्घटना र त्यसमा ३२ जना यात्रुको मृत्युको खबरले सबैलाई स्तब्ध बनाएको छ । साथै, कास्की, अछाम लगायत दुर्घटनामा ज्यान गुमाउनु भएका दिदीबहिनी तथा दाजुभाइहरुमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवार तथा आफन्तजनमा गहिरो समवेदना प्रकट गर्दछु,दुर्घटनामा परी घाइते भएकाहरुमा शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु,’ प्रचण्डद्धारा जारी शोक वक्तव्यमा भनिएको छ।

उनले सडक घटना न्यूनीकरणका लागि विशेष ध्यान पुर्याउन राज्यलाई आग्रह समेत गरेका छन् ।

‘सडकको दुरावस्थाका साथै सवारीको अवस्था, चाप, सक्षम जनशक्तिको अभाव र सरोकारवाला निकायबाट निगरानी नहुँदा देशमा दिनदिनै यसप्रकारका सवारी दुर्घटनाका घटनाहरु बढ्दै गइरहेको देखिन्छ । चाडपर्वहरूमा क्षमताभन्दा बढी यात्रुहरूको ओसारपसारले पनि यस्ता घटना बढ्न पुगेका छन्’, प्रचण्डद्धारा जारी शोक वक्तव्यमा उल्लेख छ ।

हिजो दिउँसो नेपालगञ्जबाट मुगु सदरमुकाम गमगढी जाँदै गरेको भे१ख ३१६७ नम्बरको बस छायाँनाथ रारा नगरपालिका–७ स्थित पिनाटपने खोलामा दुर्घटना हुँदा ३२ जनाको मृत्यु भएको थियो । त्यसको एकदिन अघि कास्कीको घान्द्रुकमा जिप दुर्घटना हुँदा ८ मृत्युको भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार