
काठमाडौं । चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यी नेपाल आइपुगेका छन् । भ्रमणको सिलसिलामा भारतमा रहेका चिनियाँ विदेशमन्त्री वाङ सहितको उच्चस्तरीय भ्रमण टोली केहिबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको हो ।
दक्षिण एसियाली मुलुकहरू पाकिस्तान, अफगानिस्तान र भारतको भ्रमण सकेर वाङ नेपाल आएका हुन् । २५ सदस्यीय भ्रमण टोलीसहित काठमाडौं आएका वाङको औपचारिक भेटघाट भने भोलि बिहानदेखि मात्रै सुरु हुने भ्रमण तालिका रहेको छ ।
वाङको भेटवार्ता तालिका यस्तो छ
चिनियाँ विदेशमन्त्री वाङले भोली बिहान समकक्षी डा. नारायण खड्कालाई सिंहदरवारमा भेटेपछि उनको राजनीतिक भेटवार्ता सुरु हुनेछ ।
उक्त भेटवार्तामा नेपाल र चीनबीच विभिन्न विषयमा द्विपक्षीय सहमतिपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको परराष्ट्रमन्त्रालयले जनाएको छ ।
समकक्षी डा. खड्कालाई भेट्नुअघि उनी बिहान साढे ६ बजे शिवपुरीमा हाइकिङ जाने पनि तालिका रहेको छ।
त्यसपछि वाङले प्रधानमन्त्री निवास बालुवाटार प्रधानमन्त्री शेरबहादुर देउवासंग भेटवार्ता गर्नेछन् ।
भ्रमणको तेस्रो दिन पर्सी आइतबार बिहान साढे ९ बजे राष्ट्रपति विद्यादेवी भण्डारीसंग भेटवार्ता गर्न उनि शीतल निवास जानेछन् । त्यसपछि उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र पूर्वप्रधानमन्त्रीद्वय एमालेका अध्यक्ष केपी ओलीसंग भेटवार्ता गर्ने बताइएको छ ।
चुनावको मुखमा नेपालमा वाम गठबन्धनको चर्चा भइरहेका बेला कम्युनिष्ट देश चीनका महत्वपुर्ण नेता, विदेशमन्त्री वाङले नेपालका शिर्ष कम्युनिष्ट नेता प्रचण्ड र ओलीलाई भेट्नु अर्थपुर्ण मानिएको छ ।
विदेशमन्त्री वाङले चीन सरकारको ऋण तथा अनुदान सहयोगमा निर्माण सम्पन्न भएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको समेत उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।











