
काठमाडौं । आफ्नै विद्यार्थीलाई बलात्कार गर्दै गर्भवती बनाएको आरोपमा इन्डोनेसियाका एक शिक्षकलाई मृत्युदण्डको सजाय दिइएको छ।
इन्डोनेसियाको एक अदालतले इस्लामिक विद्यालयका १३ जना बालिकालाई बलात्कार गरेको आरोपमा हेरी विरावन नाम गरेका शिक्षकलाई मृत्युदण्डको सजाय सुनाएको हो।
ती शिक्षकले ५ बर्षको अवधिमा इस्लाम समुदायका १३ जना छात्राहरुलाई बलात्कार गरेको र आठ जना गर्भवती बनाएको अदालतले ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको स्थानिय संचारमाध्यमहरुले जनाएका छन् । हेरीले सन् २०१६ देखि २०२१ को अवधिमा १२ देखि १६ वर्ष उमेर समूहका बालिकाहरुलाई बलात्कार गरेको ठहर छ ।
अदालतले शिक्षक हेरीको घटनाले इन्डोनेसियालाई स्तब्ध बनाएको भन्दै देशको धार्मिक स्कूलमा बालबालिकालाई यौन हिंसाबाट जोगाउनुपर्ने आवश्यकतामाथि प्रकाश समेत पारेको छ।
इन्डोनेसियाको बाल संरक्षण मन्त्रीसहित केही अधिकारीहरुले मृत्युदण्डको सजायको मागको समर्थन गरेका थिए। तर मानवअधिकार आयोगले भने मृत्युदण्डको सजाय उचित नहुने बताएको थियो।











