
काठमाडौं । नेपाल बार एसोसिएसनको निर्वाचनमा सत्ता गठबन्धनको प्यानलै विजयी भएको छ । निर्वाचनमा प्रतिपक्षी दल एमाले निकटका कानुन व्यवसायीहरु निल भएका छन् । बृहत लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानुन व्यवसायी समूहमा रहेका काँग्रेस, माओवादी निकटका कानुन व्यवसायीहरुको प्यानल नै विजयी भएपछि एमाले बारमा निल भएको हो ।
निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम नतिजा अनुसार ४ हजार ४७४ मतसहित सत्ता गठबन्धनका कानुन व्यवसायी गोपालकृष्ण घिमिरे अध्यक्षमा विजयी भएका छन् ।
निर्वाचनमा सत्ता गठबन्धनकै उपाध्यक्ष सुदूरपश्चिम प्रदेशमा तुलाराम गिरी, कर्णाली प्रदेशमा उत्तम कुमार आचार्य, लुम्बिनी प्रदेशमा पशुपति भण्डारी, गण्डकी प्रदेशमा वीरेन्द्र केसी, बागमती प्रदेशमा हर्क बहादुर रावल, मधेस प्रदेशमा सुधीर कुमार कर्ण, र प्रदेश १ मा सुरज खत्री विजयी भएका छन् ।
यसैगरी उपाध्यक्ष महिला, खुलामा आशा राई र महासचिवमा अन्जिता खनाल विजयी भएकी छन् । बारको कोषाध्यक्षमा भरतबहादुर राउत विजयी भए भने सदस्यमा विनिता नेपाली, किरण कुमारी शाह, नरेश कुमार शाह, नारायण दास राई, रुपबहादुर सारु, सीता पौड्याल, शर्मिला थापा विष्ट, जीतेन्द्रबहादुर मडै, भरतकुमार लकाइ, देवी प्रसाद कोइराला, निर्भयराज पौडेल, सन्तोष कुमार राउत, गुणराज आचार्य, सन्तोष तिवारी विजयी भएको प्रमुख निर्वाचन अधिकृत उषा मल्ल पाठकले जानकारी दिइन् ।
बारको यही चैत १९ गते काठमाडौँ केन्द्रसहित देशभर ३५ स्थानबाट मतदान सम्पन्न भएको थियो । बारमा अध्यक्षसहित ११ पदाधिकारी र सदस्यहरु गरी २५ जनाको कार्यसमितिका लागि भएको निर्वाचनमा ९ हजार ७०८ जना अधिवक्ता मतदाता रहेका थिए । तीमध्ये सातहजार ४२९ मत खसेको थियो ।















