जुम्ला। नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संविधानको रक्षाका लागि सत्ता गठबन्धन बनेकाले अबको लक्ष्य देशको समद्धी भएको बताएका छन् । आज जुम्लामा आयोजित सत्ता गठबन्धनको चुनावी सभालाई संवोधन गर्दै पूर्वपधानमन्त्री समेत रहेका प्रचण्डले देश विकास र आर्थिक क्रान्ति गर्न विगतमा वम गठबन्धन गरेर नेकपा पार्टी बनाइएपनि केपी ओलीको रवैयाका कारण संविधाननै संकटमा परेकाले सत्ता गठबन्धन निमार्ण भएको प्रष्ट पारे।
एमाले अध्यक्ष ओलीले प्रधानमन्त्रीको कुर्छीबाट नै संविधान मिचि दुई- दुई पटक संसद विघटन गरेर जनताका हकअधिकार मेट्न खोजेको उनले बताए ।
अध्यक्ष प्रचण्डले वर्तमान सत्ता गठबन्धनले बहुमतको सरकार बनाउनेमा दुई मत नरहेको दावी गरे। चुनाव जितेर बन्ने गठबन्धन सरकारको अबको प्राथमिकता कर्णालीको विकास रहने उनको भनाई थियो ।
अध्यक्ष प्रचण्डले अब बन्ने गठबन्धन सरकारले कर्णाली र सुदूरपश्चिम प्रदेशमा विकास केन्द्रित गर्ने आश्वासन समेत दिए ।
उनले कर्णालीमा सडक, खानेपानी, स्वास्थ्य, शिक्षा, कृषी लगायतका क्षेत्रत्रमा विकासको मुल फुटाउन सत्ता गठबन्धनका साझा उम्मेदवारलाई जिताउनु पर्नेमा जोड दिए ।
सभालाई संवोधन गर्दै अध्यक्ष प्रचण्डले जुम्लाको सिंजा सभ्यता नेपालको गौरवको सभ्यता भएकाले राज्यले सिंजा सम्वन्धी विशेष प्रतिष्ठान बनाएर काम गर्ने समेत बताए ।
उनले जुम्लामा पनि राजतन्त्रका प्रेतात्माहरु चिच्याइरहेको बताए । राप्रपाबाट जुम्लामा प्रतिनिधिसभाका उम्मेदवार बनेका ज्ञानेन्द्र शाहीलाई लक्षित गर्दै प्रचण्डले सामन्तवादका बांकी अवषेशलाई पनि जनताले शून्य बनाएर छोड्ने बताए ।
कार्यक्रममा बोल्दै कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले संविधान, लोकतन्त्र र गणतन्त्र मास्न कुचेष्टा गर्ने एमाले अध्यक्ष केपी ओलीलाई जनतासामु गएर भोट माग्न राजनीतिक इमानदारिता नरहेको बताए । उनले गठबन्धनको पक्षमा भोट हाल्न जुम्लाबासीलाइृ आग्रह पनि गरे।