बिराटनगर । कोशी प्रदेशमा नेकपा एमाले नेतृत्वको सरकार ढलेको छ। आज बसेको प्रदेशसभा बैठकमा विश्वासको मत नपाएपछि एमालेबाट मुख्यमन्त्री बनेका हिक्मतकुमार कार्की नेतृत्वको सरकार ढलेको हो ।
९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत चाहिन्थ्यो। प्रदेशसभामा भएको मत विभाजनमा मुख्यमन्त्री कार्कीले एमालेका ४० र राप्रपाका ६ गरी ४६ सदस्यको मत मात्रै पाए भने उनको विपक्षमा ४३ मत पर्यो । प्रदेशसभामा नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले कार्कीको विपक्षमा मतदान गरेका थिए ।
बैठकमा ८९ सदस्यमात्र उपस्थित थिए । मत विभाजनमा जसपा तटस्थ बसेको थियो । कार्की नेतृत्वको सरकार ढलेकाले अब कोशीमा नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ । कार्की पुस २४ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।
कोशी प्रदेश सरकारमा माओवादीले दावी गरिरहेको छ ।