मोरङ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले नेपालका कम्युनिष्ट पार्टीहरुबीचको एकता अपरिहार्य रहेको बताएका छन् । आज मोरङमा नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको ४५औं स्मृति दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मोदीले नेकपाका संस्थापक महासचिव पुष्पलालको सपना पूरा गर्नका लागि नेपालका कम्युनिष्ट पार्टीहरुबीचको एकता अपरिहार्य रहेको बताएका हुन् ।
उनले एउटै बलियो कम्युनिष्ट पार्टी मार्फत आमूल परिवर्तनको सपना बोकेर नेपाल कम्युनिस्ट पार्टी स्थापना गर्ने पुष्पलालको सपना साकार गर्नका लागि पनि सबै कम्युनिष्टबीचको एकता अनिवार्य र अपरिहार्य रहेको बताए । माओवादी केन्द्रका नेतासमेत रहेका मन्त्री मोदीले पुष्पलाल श्रेष्ठको योगदानले नै अहिले कम्युनिष्ट पार्टीहरु यो स्थानसम्म आइपुगेको बताए ।