
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले कोरोना विरुद्ध लड्न घरमै बसेर सहयोग गर्नु पर्ने बताएका छन् । शनिबार भिडियो सन्देश जारी गर्दै अध्यक्ष दाहालले विश्वमा महामारीको रुपमा फैलिएको कोरोना विरुद्ध लड्न सरकारले जारी गरेको नियम पालना गर्न सबैलाई आग्रह समेत गरेका छन् ।
अध्यक्ष दाहालले कोभिड–१९ संक्रमणका बेला अग्रपंक्तिमा रहेका सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको मनोबल उच्च बनाउनका लागि आवश्यक स्वास्थ्य सामाग्रीको व्यवस्थामा राज्यले जोड दिनुपर्ने बताएका छन् । साथै उनले यो लडाईको अग्रमोर्चामा स्वास्थ्यकर्मी र सुरक्षा कर्मी नै रहेको पनि बताए ।
सन्देशमा अध्यक्ष दाहालले दैनिक ज्याला गरेर जीविकोपार्जन गर्ने निम्न वर्गीय नागरिकका लागि आश्यक आर्थिक प्याकेज ल्याउन पनि सरकारसंग माग गरेका छन् । संकटको यो घडीमा गरिब र असहायहरुको लागि मुठि फुकाउन निजि क्षेत्रका व्यवसायीलाई आग्रह गरेका छन् ।
साथै उनले सातै प्रदेशमा आवश्यक स्वास्थ्य उपकरणको व्यवस्था गर्न माग गरेका छन् ।










