
काठमाडौं । डाक्टर गोविन्द केसीले जुम्लाबाटै अनशन सुरु गरेका छन् । चिकित्सा शिक्षा सुधारको लागि ६ बुँदे माग राखेर आज दिउँसो २ बजेबाट अनुशन सुरु गरेका हुन् ।
डा. केसीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस कार्यक्रम सुरु गर्नुपर्ने, मास्कको प्रयोग र सामाजिक दूरी अनिवार्य गर्दै पीसीआर परिक्षण व्यापक बनाएर निषेधाज्ञा र लकडाउन अन्त्य गर्नुपर्ने माग राखेका छन् ।
त्यस्तै राज्य लक्ष्मी गोल्छा घुस काण्ड, आयल निगम जग्गा खरिद काण्ड, वाइड बडी काण्ड, सेक्युरिटी प्रेस खरिद काण्ड, दरबारमार्गको जग्गा काण्ड, ओम्नी समुहको औषधि खरिद काण्ड लगायत सबै ठूला भ्रष्टाचार काण्ड र बालुवाटार जग्गा काण्डका दोषीलाई कानुन बमोजिम छानविन र कारवाही गर्नुपर्ने माग पनि गरेका छन् ।
केही समयदेखि जुम्लामै रहेका डा. केसी यसअघि नै अनशन बस्ने तयारी थिए । तर, कोरोना संक्रमणको जोमिका कारण जुम्लाकै जनताको आग्रहमा रोकेका थिए ।









