
काठमाडौं । लुम्बिनी प्रदेश सरकारकी भौतिक पूर्वाधार विकास राज्यमन्त्री सुमन शर्माले राज्यमन्त्रीबाट राजीनमा दिएकी छन् । आफ्नो पार्टी जनता समाजवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि रायमाझीले शुक्रबार राज्यमन्त्री पदबाट राजीनामा दिएकी हुन् ।
उनले राजीनामा दिएसँगै लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री शंकर पोखरेलले बहुमत गुमाएका छन् । लुम्बिनी प्रदेशसभामा हाल कायम ८३ सांसदमध्ये सत्तारुढ एमालेका ३८ जना छन् । जसपाका ४ जना सांसद सरकारमा हुँदा सरकारको पक्षमा बहुमत थियो । तर राज्यमन्त्री रायमाझीको राजीनामासँगै सरकारको पक्षमा अब ४१ जना सांसद मात्र छन् ।
सरकारलाई बहुमत पुग्न कम्तीमा ४२ सांसद चाहिन्छ । लुम्बिनी प्रदेशसभामा नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका सभामुखसहित १९, जनता समाजवादी पार्टीका ३ जना र राष्ट्रिय जनमोर्चाका एक जना गरी ४२ जना सांसद सरकारको विपक्षमा छन् ।
सरकार अल्पमतमा परेपछि विपक्षीले मुख्यमन्त्री पोखरेलको राजनीमा माग गरेका छन् । विपक्षले एक जनाको राजीनामाले सरकार अल्पमतमा परेकाले अब मुख्यमन्त्रीले राजनीमा दिनुपर्ने माग गरेका हुन् ।











