
काठमाडौं । काँग्रेस सभापति शेर बहादुर देउवा भोली प्रधानमन्त्रीमा नियूक्त हुने भएका छन् । सोमबार सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर गर्दै बदर गरिदिएपछि देउवा प्रधानमन्त्री बन्न लागेका हुन् ।
सर्वोच्च अदालतको संवैधानिक इजालसले संविधानको धारा ७६(५) अनुसार कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री नियुक्ति गर्न परमादेश जारी गरेको छ ।
परमादेशअनुसार राष्ट्रपतिले देउवालाई भोलि साँझ ५ बजेसम्म प्रधानमन्त्रीमा नियुक्त गर्नुपर्नेछ ।
राष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओलीको सिफारिसमा दोस्रोपटक जेठ ७ गते मध्यरातमा प्रतिनिधिसभा विघटन गरेकी थिइन् ।
३० वैशाखमा संविधानको धारा ७६(३) अनुसार प्रतिनिधिसभाको ठूलो दलको नेताको हैसियतमा प्रधानमन्त्री नियुक्त भएका ओलीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था भएपनि उनले त्यो लिएका थिएनन् ।
बरु उनले ६ जेठमा ७६(५) अनुसार सरकार गठन प्रक्रिया अघि बढाउन राष्ट्रपति समक्ष सिफारिस गरे । प्रधानमन्त्रीको सिफारिसअनुसार राष्ट्रपति भण्डारीले ७६(५) अनुसार प्रधानमन्त्री नियुक्तिका लागि विश्वासको मत प्राप्त गर्ने आधार प्रस्तुत गर्न आहृवान गरेकी थिइन् ।
जसमा सभापति देउवाले विपक्षी गठबन्धनको साथ लिँदै १४९ सांसदको हस्ताक्षरसहित प्रधाननमन्त्री नियुक्तीका लागि राष्ट्रपतिसमक्ष दावी पेश गरेका थिए ।
त्यस्तै एमाले अध्यक्ष ओलीले पनि आफुलाई वहुमत सांसदहरुको सर्मथन रहेको भन्दै प्रधानमन्त्रीसमक्ष दावी पेश गरेका थिए ।
तर, राष्ट्रपति भण्डारीले दुबैको दाबी नपुग्ने निर्णय लिएकी थिइन् । त्यसपछि प्रधानमन्त्रीको सिफारिसमा मध्यरातमा प्रतिनिधिसभा विघटन गरेकी थिइन् । जसको विरुद्धमा विपक्षी गठबन्धन सर्वोच्च गएको थियो ।












