
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । आज दिउँसो राष्ट्रपति भवन शीतलनिवासमा राष्ट्रपति र ओलीबीच समसामयिक राजनीति र संसद्को गतिरोधका बिषयमा छलफल भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
भेटमा राष्ट्रपति पौडेलले लामो समय संसद् चल्न नसक्दा जनतामा निराशा बढ्ने र संसदप्रति नै जनतामा नकारात्मक प्रभाव पर्ने भएकाले संसद् गतिरोध अन्त्य गर्न ओलीको ध्यानाकर्षण गराएका थिए। राष्ट्रपति पौडेलले अध्यक्ष ओलीलाई सत्ता र प्रतिपक्षलगायत संसदमा रहेका सबै दलहरूलाई विश्वासको वातावरण सिर्जना गरेर अघि बढ्न सुझाव पनि दिएका थिए ।
राष्ट्रपति पौडेलले यसअघि २५ साउनमा प्रधानमन्त्री प्रचण्डसँग पनि संसदको गतिरोधका विषयमा छलफल गरेका थिए ।
सुन तस्करी प्रकरणबारे छानविन गर्न उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै एमालेले साउन १० गतेदेखि संसद अवरोध गरिरहेको छ । अवरुद्धसंसद खोल्न प्रमुख राजनीतिक दलहरुबीच यस विषयमा छलफल भएपनि निष्कर्षमा पुग्न सकेको छैन । आजै सत्ता गठबन्धनले अवरुद्ध संसद खुलाउन विपक्षीदल लगायतसंग छलफल गर्ने निर्णय गरेका छ ।







