काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही ३ को उपनिर्वाचनका लागि गरेको छनौट प्रकृयाको विवाद अझै सुल्झिएको छैन् । उपनिर्वाचनमा आकांक्षीहरुबिच गरिएको आन्तरिक निर्वाचनमा धाँधली भएको भन्दै विवाद भएको थियो । जसबारे आकांक्षी ९ जनाले पार्टीमा उजुरी समेत दिएका थिए । जसबारे अहिलेसम्म कुनै सुनुवाई नभएको भन्दै पार्टीमा विवाद उत्पन्न भएको छ ।
आकांक्षीहरुबीच गरिएको निर्वाचनको नतिजा समेत अहिलेसम्म सार्वजनिक नगरिएको भन्दै पार्टीका केन्द्रिय नेताहरुले समेत प्रश्न उठाइरहेका छन् । पार्टीका केन्द्रीय सदस्य गणेश कार्कीले आज सामाजिसंजालमार्फत रुपन्देही–३ का आकांक्षी उम्मेदवारबीचको प्रारम्भिक निर्वाचनको नतिजा सार्वजनिक किन नगरेकोको भन्दै प्रश्न गरेका छन् ।
आगामी कात्तिक १७ गते हुने रुपन्देही ३को उपनिर्वाचनका लागि रास्वपामा ९ जना आकांक्षी थिए । जसमध्ये एकजना उम्मेदवार छनोट गर्न रास्वपाले भदौ १२ र १३ गते पार्टीभित्र आन्तरिक निर्वाचन गरेको थियो । तर उक्त निर्वाचनको नतिजा नै सार्वजनिक नगरी
रास्वपाले भदौ १५ गते साँझ डा। लेखजंग थापालाई उम्मेदवार बनाउने निर्णय सार्वजनिक गरेको थियो । पार्टीले आकांक्षी ९ जनाबीच गरेको आन्तरिक निर्वाचनमा कसले कति मत पाए भन्ने सार्वजनिक गरिनु पर्ने केन्द्रिय सदस्य कार्कीले बताए ।
प्रारम्भिक निर्वाचनको मत ाहिलेसम्म सार्वजनिक नगरेकामा आकांक्षीहरु असन्तुष्ट छन् ।
केन्द्रीय सदस्य कार्कीले प्रारम्भिक निर्वाचनको मत सार्वजनिक नगरेर पार्टी आफ्नै चरित्रबाट भागे जस्ता देखिएको टिप्पणी गरेका छन् । उनले लेखेका छन्, ‘चुनाव बलियो हो भन्ने हामी रास्वपा समेत प्रारम्भिक चुनावको नतिजा सार्वजनिक नगरेर आफ्नै चरित्रबाट भागे जस्ता देखिदैछौँ ।’
आकांक्षीबीच गरिएको आन्तरिक निर्वाचनमा रुपन्देही ३ मा रास्वपाका २७१६ जना पार्टी सदस् मध्ये १५६७ मत खसेको थियो । क्षेत्रका सदस्यहरू मध्ये ११४९ जना प्रारम्भिक मतदानमा सहभागी भएका थिएनन् । ६२ जना केन्द्रीय समिति सदस्यहरूमा २७ जनाले मात्रै मत दिएका थिए । जसमा कुन आकांक्षीले कति मत पाए भनेर सार्वजनिक नगरिकनै रास्वपाले रुपन्दहेी ३ का लागि डा. थापालाई उम्मेदवार घोषणा गरेको थियो ।
उम्मेदवार छनौटमै विवाद र असन्तुष्टी छलाछुल्ल देखिएपछि रुपन्देही ३ को उपनिर्वाचनमा रास्वपाको नतिजा कस्तो आउला भन्नेमा धेरैले चासो ब्यक्ति गरिरहेका छन् ।