कस्ले गर्यो गृहको एसएमएस सेवा ह्‍याक ?


काठमाडौ । विगत तीन दिनदेखि गृह मन्त्रालयको एसएमएस सेवा ह्याक भएको खबर आइरहेको छ । मन्त्रालयका कर्मचारीलाई सनसनीपूर्ण सन्देशको एसएमएस आएपछि सेवा ह्याक भएको थाहा भएको हो ।

बुधबार दिउँसो मन्त्रालयका कर्मचारीको मोवाइलमा चीन–भारत सीमावर्ती लद्दाखको गलवान इलाकामा भएको दुई देशका सैनिकबीचको हिंसात्मक घटनालाई संकेत गरी सन्देश प्रवाह गरिएको नेपाली अक्षरको एसएमएस आएको थियो ।

एसएमएसको अन्तिममा अंग्रेजी अक्षरमा ‘गभर्मेन्ट अफ नेपाल’ लेखिएको थियो । सन्देशको सार ‘क्षेत्रीय शान्ति स्थापनाका लागि एकपक्षीय कार्यको कडा शब्दमा निन्दा गर्दछ,’ भन्ने थियो । यो एसएसमएस मन्त्रालयका सचिवदेखि सबै कर्मचारीको मोबाइलमा पुगेको   हो ।

म्यासेज पाउनेबित्तिकै मन्त्रालयका ‘प्राविधिक कर्मचारी’ बोलाएर एसएसएस सेवा प्रणाली बन्द गर्न लगाइयो । तत्कालै उक्त प्रणालीको पासवर्ड पनि परिवर्तन गरियो । त्यसपछि गृह मन्त्रालयले एसएमएस सेवा हयाक भएको विषयमा विज्ञप्ति जारी गर्दै छानबिन गर्न प्रहरी प्रधान कार्यालयमार्फत साइबर ब्युरोलाई जिम्मा दिइयो ।

अहिले प्रहरीको साइबर ब्युरोले छानबिन सुरु गरिसकेको छ । प्रहरी निरीक्षक प्रवीण ताम्राकारको नेतृत्वले अनुसन्धान सुरु गरेको छ । एसएमएसको सन्देश नेपालीमा लेखिए भएपनि सिलसिलाबार र केही अक्षर नमिलेकाले भारतीय ह्याकरको नै संलग्नता रहेको हुन सक्ने आशंका गरिएको छ ।

प्रारम्भिक अनुसन्धानअनुसार ‘भर्चुअल प्राइभेट नेटवर्क’ (भीपीएन) प्रयोग गरेर एसएमएस सेवा प्रणाली हयाक गरिएको देखिन्छ । यसका लागि पेइड भीपीएन प्रयोग भएको अवस्थामा अनुसन्धान सहज हुने एक प्रहरी अधिकारीले जनाएका छन् ।

नेपालले भारतले अतिक्रमण गरेको भूमिलाई समेटेर नयाँ नक्सा जारी गरेदेखि नै भारतीय ह्याकर सक्रिय भएका सुरक्षा अधिकारीहरु बताउँछन् । यही मेसोमा लद्दाखको गलवान घाँटीमा चिनियाँ र भारतीय सेनाबीच हिंसात्मक घटना लक्षित गृहकै एसएमएस प्रणाली दुरुपयोग गरेर भारतीय पक्षलाई समेत एसएमएस प्रवाह भएको हो ।

प्रहरीको साइबर ब्युरोले अन्य मन्त्रालयका एसएमएस सेवामा पनि सतर्क रहन अनुरोध गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार