
काठमाडौं । जारी माओवादी केन्द्रको पदाधिकारी बैठकले सम्पन्न चुनावमा सत्ता गठबन्धनमा केही कमी कमजोरीका बाबजुद सफल भएको प्रारम्भिक निश्कर्ष निकालेको छ ।
आज बसेको बैठकपछि संचारकर्मीहरुलाई प्रतिकृया दिंदै माओवादी केन्द्रका महासचिव देव गुरुङले मंसिर ४ को सम्पन्न चुनावमा गठबन्धनमा केही कमी कमजोरीका बाबजुद सफल भएको प्रारम्भिक निश्कर्ष निकालिएको बताए ।
उनले बैठकमा सत्ता गठबन्धनको विकल्पबारे कुनै छलफल नभएको पनि जानकारी दिए ।
गठबन्धन यथावत भएकाले त्यहीँबाट नयां सरकार गठन गरिने प्रयास स्वभाविक भएपनि त्यसबारे अहिलेसम्म नेताहरुबीच छलफल नभएको उनले बताए । महासचिव गुरुङले गठबन्धन तोडिनुपर्ने कुनै कारण नभएको समेत प्रस्ट पारे ।
हिजोको बैठकबारे उपाध्यक्ष कृष्णबहादुर महराले सरकार गठनका लागि सबै विकल्प खुला गरेको बताएका थिए । तर आजको बैठकपछि महासचिव गुरुङले उपाध्यक्ष महराको भनाइ सच्याउँदै भने, ‘हिजो कुन प्रसँग, सन्दर्भमा कुरा प्रकट भए । तर, सरकार गठन, विकल्पका बारेमा केही कुरा भएकै छैन ।’








