देशका लागि आफूलाई नै भुलेर योगदान गर्नेहरूले तक्मा पाइसके । तक्मा पाएको उपलब्धि तिनले हर्षोल्लाहसका साथ सामाजिक सञ्जालमा स–गौरव प्रस्तुत गरिसके । हामी भने यो भएन, त्यो पनि भएन भनेर असन्तोषका स्तम्भहरू लेखेर बस्नु परेको छ । यो एकबारको जुनी समेत हास्यास्पद् जस्तो लाग्छ ।
आकाशे पुलमाथि बसेर सवारी साधन गुडिरहेको हेर्दै दिन कटाउने सयौं युवाको निम्छरो अनुहार हेर्छु । कहाँबाट के–के सपना देखेर झोलामा कस्ता–कस्ता कागजपत्र राखेर गाउँ छाडेका होलान्, यी नौ जवानहरूले ! घोत्लिएर सोचिरहन्छु । यस्तो लाग्छ, यत्तिको गहिरो सोचाइमा त सेक्सपियर पनि परेनन् होला ।
सोचाइको मथिङ्गलमा फसेका बेला सुनौलो भविष्यको सपनाका भारी बोकेर एक थान पत्रिका हातमा आउँछ । पुरानो साइकलमा लगाम कसेर एउटा सानो बच्चाले बेचिरहेको छ पत्रिका । तर दुःख मान्नुहुँदैन । बालबालिकाको अधिकार पनि पत्रिकामै लेखिएको छ पक्का । भोलिका कर्णधार भनेर त किताबमै लेखिएको छ ।
समाचारमा पढेँ– अघिल्लो दिन देशलाई आत्मनिर्भर बनाउने भाषण गरेका एकजना मन्त्रीज्यू त एउटा एनजीओको वार्षिक प्रतिवेदन सार्वजनिक गर्ने कार्यक्रमको उद्घाटन गर्न पो पुगेका रहेछन् । यी एनजीओहरू जसले हाम्रा भोकानाङ्गा फोटा देखाएर आफ्नो स–परिवार युरोप हस्तान्तरण गरायो ।
हात्तीको चपाउने र देखाउने दाँत हुन्छ भन्छन् । हाम्रा मन्त्रीहरू पनि हात्ती भएका छन् । समाचार अर्को पनि छ– जनतालाई सामाजिक सुरक्षका अनेकौं प्रलोभन देखाएर एक मन्त्री किसानमारा/जनतामारा सहकारीको साधारण सभामा सहभागी हुन पुगेका रहेछन्, किनभने त्यो सहकारी उनकै रहेछ । रामराम कस्तो तिगडम !
यो चाहिँ समाचारको कुरा होइन, नाकको चालले थाहा पाएको । जनता र मुलुकको स्वाभिमानको प्रश्न उठाएर नथाक्ने मन्त्रीहरू, सांसदहरू, सचिवहरू आईएनजीओले बन्दोबस्त गरेको साताव्यापी विदेश भ्रमणमा निस्किन्छन् । मेयर र मुख्यमन्त्रीहरू विदेश गएकोगयै छन् । हेर त चमेली, लाजै पचाएर सरकारी खर्चमा काठमाडौंका मेयर विद्यासुन्दर शाक्य श्रीमतीका साथ अमेरिका भ्रमणमा गएका छन् बाबै ।
मन्त्रीका प्रचार
केही मिडियामा समाचार आउँछ– हाम्रा मन्त्रीले आज यस्तो निर्णय गरे, उस्तो निर्णय गरे, यो घोषणा गरे, त्यो घोषणा गरे, अबको यति दिनभित्रमा यस्तो हुने भयो, उस्तो हुने भयो आदि । नेपाली जनताका दुःखका दिन गए, फलनो आयोजनाको डीपीआर बन्यो, यो हुने भयो, त्यो हुने भयो, इतिहासमै पहिलो पटक यस्तो भयो जस्ता तथाकथित प्रगति विवरण पेश गरेको खुबै पढ्न पाइन्छ । मन्त्रीका गफअनुसार त समाजवाद नै आइसक्यो । तर फेसबूकभन्दा बाहिर जनताको जीवन भने झनझन कष्टकर बन्दै गइरहेको छ ।
हामी नेपली नागरिक, खासगरी युवाहरू यस्तो मानसिकतामा पुगेका छौं कि सामाजिक सञ्जालमा आएको कुरा सहजै पत्याइदिन्छौ । सरकारले समाजिक सञ्जालमा गरेको अपडेट वा मिडियामा आएका कुरा नै अन्तिम सत्य हुन्, भनेर प्रचार गर्छौं । पार्टी कार्यकर्तालाई त झन् समाजिक सञ्जालमा मात्रै प्रगति देख्ने आदत परिसकेको छ । ‘भोलिदेखि कलंकीमा पानी जहाज चल्ने’ भनेर ब्लग जस्तो देखिने अनलाइनमा समाचार आयो भने पनि ‘हो, हो चल्ने नै भयो’ भन्नेहरू धेरै छन् ।
यसो हेर्दा मोनोरेल सामाजिक सञ्जालमा आइसकेको छ । धेरै त चढिसकेका पनि होलान् । मोनोरेलका सब–स्टेसनहरू कहाँ–कहाँ हुने भनेर समेत खुलाइएको थियो । सामाजिक सञ्जालमा पाइपबाट ग्यास पनि आइसक्यो । तर त्यो गोबरको ग्यास थियो, जुन हाम्रा बाउबाजेले वर्षौंदेखि प्रयोग गरेका थिए । प्रधानमन्त्री ओलीले गोबर ग्यास उद्घाटन गरे । जनताले ठाने– यो त जमनिमुनिको ग्यास होला ।
सामाजिक सञ्जालमा ठेगाना र सम्पादक नखुल्ने अनलाइनहरू समाचारमा किन हावि हुन्छन् त भन्दा ती झूटका पुलिन्दा हुन्छन् । झूटका पुलिन्दालाई प्रचार गर्न मन्त्रीले धेरथोर सहयोग गरेका हुन्छन्, वा भनौं शक्तिकेन्द्रले । पप्पुजस्ता देशद्रोही ठेकेदारको पैसा धेरथोर ती प्रचारसेनाको खल्तीमा पुगेको हुन्छ । त्यसको बन्दोबस्त लोकल्याणकाणी राज्यका हिमायतीहरू नै गर्छन् ।
पिसाबको न्यानो जस्तो लाग्ने यस्ता किसिमका प्रगति विवरणहरू निकै चासोका साथ मन्त्रीहरूले सामाजिक सञ्जालमा शेयर गर्छन् र हाइसञ्चोको लामो हाइ काड्दै निदाउँछन् । ती ठान्दा हुन्, आज मैले धेरै विकास गरेको छु । उन्नति–प्रगति गरेको छु, किनभने समाचार शेयर गरेको छु । जनताले यो कुरा पत्याउँछन्, जुन मैले शेयर गरेको छु ।मन्त्रीका हनुमानहरूले ती प्रगति विवरणका लिंकहरू विभिन्न अरिङ्गाल पेजहरूमा शेयर गर्छन् र नाबालक केटाकेटी जस्तै रमाउँछन् ।
तपाईंलाई अवगत नै होला, हालसालैको एक सम्बोधनमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना कार्यकर्तालाई अरिंगाल बनेर जाइलाग्न उर्दी जारी गरेका थिए । यसको मूल आशय मिडिया जो पार्टीबाट सञ्चालित छन्, तिनलाई दोषी देखाएर ‘के हेरेर बसेका छौ तिमीहरू सरकारको चौतर्फी हमला भएको देख्दैनौ ?’ भन्न खोजिएको हो । अर्थात्, प्रधानमन्त्री ओलीले जे जसरी हुन्छ, विरोधीहरूको प्रतिवाद गर भनेको हो ।
मन्त्रीले शेयर गरेका झूटका पुलिन्दामुनि कमेन्ट हुन्छन्– ‘वा, वा .. मन्त्रीज्यू, यस्तो पो काम । यस्तो काम इतिहासमै पहिलोपटक भयो । मन्त्रीज्यूको यो महान कामले सरकार छ भन्ने आभाष दिलायो । सोह्रै आना ठीक हो मन्त्रीज्यू, उनीहरूले कुरा नबुझेका मात्र हुन्, तपाईं एकदम राइट हुनुहुन्छ । हो नि मन्त्रीज्यू, दिनरात भोकप्यास नभनी खटेर काम गर्नुभएको छ हाम्रो लागि, धेरै धन्यवाद ! आदि ।’
तपाईंहरूलाई म केही उदाहरण मात्र शेयर गर्न चाहन्छु, यसलाई संकेतका रूपमा मात्रै लिनुहोला । जस्तो कि हालसालै पर्यटन मन्त्री रवीन्द्र अधिकारीले भनेका छन्, ‘मैले विमानस्थलमा ठूलो सुधार गरेँ ।’ सुधारचाहिँ उनले के गरे ? त्यतातिर प्रायःको ध्यान जाँदैन । शायद जाने आवश्यक देख्दैनन् । तर तिनका कामको प्रगति विवरण सामाजिक सञ्जालमा सन्तोषका साथ प्रचार गरिएको पाइन्छ । मन्त्री स्वयं पनि प्रचार गर्छन् । यो मामिलामा उनी निकै अगाडि छन् ।
हेर्नुहोस्, नेपाल वायु सेवा निगमका साना जहाजहरू जो छन्, जसले दुर्गम भेगमा उडान भर्छन्, तिनको टिकट सामान्य अवस्थामा जनताको पहुँचमा त छैन नै, त्यो हुने पनि छैन । चाडबाडको मुखमा उसले आन्तरिक उडानका सम्पूर्ण टिकटहरू महिना दिन अगाडि नै बेचिसकेको छ । जो पहुँचवाला छन्, जो नेतागिरी गर्छन्, जो चम्चागिरी गर्छन्, तिनका हातमा ती टिकटहरू परिसकेका छन् । सरकारी विमानमा पैसा तिरेर चढ्नका लागि सोर्सफोर्स लगाउन पर्ने देश शायद नेपाल मात्रै होला ।
मन्त्री रवीन्द्र अधिकारीले विमानस्थलको के त्यस्तो सुधार गरे ? रनवेको आकार बढाएर ठूलो बनाए कि ? प्रवेश मार्ग वरिपरि मनमोहक बगैँचा निर्माण गरे कि ? वाइडबडी खरिद प्रकरणमा कंशाकार मनुष्यले ठूलै घोटला गरेका छन्, त्यसउपर दुईशब्द चुइक्क बोले कि ? नेपाली आकाशमाथि हवाई ट्राफिक जामको समस्या हल गरे कि ? विमनस्थलमा तस्करी रोकियो कि ? ट्याक्सीहरू किन यात्रु तानातान गर्छन् ?
विमानस्थलमा लगेजका लागि घटौं कुर्नुपर्ने अवस्था कायमै छ । चर्पीमा साबुन नहुने, ट्वाइलेट पेपर नहुने कुरा त सामान्य नै भयो । अलिकति नयाँ कुर्सी राखिदिएर भुइँ पुछपाछ पारेर, पंखा जोडेर विमानस्थलको सुधार हुने होइन । टेक्निकल्ली के गरियो ? त्यो प्रधान हो । यस्ता काम मन्त्रीको पनि होइन, यदि हो भने विमानस्थल प्रमुखले मन्त्रालय सम्हालेको हुनुपर्यो ।
रात पर्न लागेपछि टन्न वीयर र मासु खायो । आफ्ना नजिकका साथीहरू बटुल्यो । त्यसमा पत्रकारहरू पनि हुन्छन् । तर सबै हुँदैनन् है । जो मन्त्रीकै चाहनामा विदेश पनि घुम्न जान्छन् बेलाबेलामा, ती पत्रकारलाई भन्न खोजेको । यो मन्त्री रवीन्द्र अधिकारिलाई जोडेर सिधै भन्न खोजेको होइन, मिलाएर बुझ्नुहोला । अनि टन्न वीयर र मासु खायो । समाचारहरू निकै भाइरल भएको र देशमा अब विकास हुन थालेको गफ लगायो । अब कहाँ अनुगमन गर्न जाने यार ? भन्यो, सकियो ।
चाडबाडको मुखमा सवारी साधनको भाडा बढेको छ । के यो सरकार हो ? यो सरकार हो कि कमिसनखोरहरूको संस्था हो । यातयात हेर्ने विभागीय मन्त्री र कर्मचारीहरू कुन दुलामा छन् ? तिनीहरू त हेलिकप्टर चार्टर्ड गरेर घार जालान्, तर सामान्य जनता जो महिना दिन अगाडिदेखि गाडी भाडा हिसाब गरेर औँला भाँच्दै बसेका हुन्छन्, मर्का तिनलाई छ । बसपार्कहरूमा ठूलो भीड लागेको छ । मानौं तिनीहरू एकथान टिकट पाउनका लागि महाभारतको लडाईंमा संलग्न हुँदैछन् । टिकटमा सहुलित त छैन नै टिकट पाउन पनि सहज छैन ।
यातयात क्षेत्रमा चामत्कारिक फड्को भनेर लेखिन्छन् । समाचार शेयर हुन्छन् । तर पुराना गाडी चलाउने निर्णय गरेर सरकारले सिन्डिकेटलाई फेरि वैधानिकता दिएको चाल कसैले पाउँदैनन् । कमिसन विना यो चाडबाडको मुखमा सवारी साधनको भाडा बढ्दैन हजुर, किनभने बन्दको नाटक गरेर हालसालै पेट्रोलको अप्राकृतिक अभाव सृजना गरेको देखिएकै हो । यसमा राज्यको नुनपानीबाट पोषिएकाहरूकै भूमिका छ, जसले आफूलाई सच्चा राष्ट्र सेवक ठान्दछन् ।
धरातालीय यथार्थ कलंकीका बाटोहरूमा जुन धूलो उडेको छ, र त्यो धूलो बादल जस्तो मडारिएको हुन्छ । हो, यही हो हाम्रो धरातलीय यथार्थ । राजधानी लगायत देशैभरी खानेपानीको यति धेरै अभाव छ, स्वयं मन्त्री क्वाटरमा ट्याङ्करका ट्याङ्कर पानी लगिन्छ । अन्य भीआईपी, भीभीआईपीका बारेमा कुरै नगरौं । त्यसको बिल जनताको पसिनाको करबाट भुक्तानि हुन्छ । तर मिडियामा प्रचार यस्तो हुन्छ कि बाहुबलीको करामत झैं चुट्कीको भरमा यहाँ सबै तमाम भइरहेको छ ।
‘मेलम्चीको पानी आयो, आयो, आयो । अब त एक आयो, दुई आयो, तीन आयो, किनभने फलानो मन्त्री आएपछि काममा ब्रेकथ्रु भयो,’ भन्ने कुरा पङ्तिकारले बच्चादेखि नै सुन्दै आएको हो । सुन्ने क्रम जारी छ । अब त मेलम्चीको पानी आयो नै भने पनि छक्क परेर टोलाउनुपर्ने स्थिति छ । आजभोलि पनि आयो, आयो भन्न छाडिएको छैन । समाचार हेर्दा, सामाजिक सञ्जालको प्रचार हेर्दा यस्तो लाग्छ, म भोलि बिहान मेलम्चीको पानीले नुहाउँदैछु ।
मन्त्रीहरूले माखो मार्न नसकेको, केबल कमाउधन्दामा लागेको कुरा त्यो पङ्तिकाले लेखिरहनै परेन, संसदमा सत्तापक्षकै नेताले भाषण गररेको सुन्नुहोस् । पछिल्लो समय कम्युनिस्त पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले के भने त्यो विश्लेषण गर्नुहोस् । केही हप्ता अगाडि स्वयं ओली सरकारका प्राइभेट थिंक ट्याङ्करहरूले मन्त्रीहरूको बायोडाटा सार्वजनिक गरेका छन् । त्यो बायोडाटामा विभिन्न जोनहरू थिए, खतरनाक जोन, सेतो जोन, पहेलो जोन के–के पो थिए ।
तरकारीको मूल्य हेर्नुहोस् बजारमा । आज कालीमाटीको कति ठूलो चर्चा छ । मानौं कालीमाटी नै नेपालको तरकारी पसल हो, अरु होइन । मन्त्री एक गाडी प्रहरी बोकेर कालीमाटी जान्छन्, अनि कडा आदेश दिन्छन् र घोषणा गर्छन्, कृषिमा आमूल परिवर्तन भयो । तर मन्त्री र तिनका पिछलग्गुहरूलाई थाहा हुँदैन कि केही स्टलहरूको इजाजत खारेज गरिँदैमा, शिलबन्दी गरिँदैमा किसानको टमाटरको भाउ बढ्दैन । चिनीको मूल्य किन बढेको हो, कोही जवाफदेही छैनन् । किसानहरूको अदुवाले बजार पाउन सकेको छैन । आज पनि किसानले सस्तो मूल्यमा आफ्ना उत्पादनहरू बेच्नुपरेको छ । तर मन्त्रीहरू, तिनका आसेपासेहरू समाचार शेयर गर्छन्, सामाजिक सञ्जालमा केही भिडियोहरू शेयर गर्छन् र दाबी गर्छन् सबै समास्या समधान भयो ।
यस्तो कर्ममा मन्त्री लालबाबु पण्डित निकै चनाखो थिए । उनी के मन्त्री हुन् त्यो थाहा छैन तर मन्त्री पक्कै हुन् । एउटा स्टन्टबाजी मन्त्री, काम नगर्ने चर्चाका लागि जे पनि गर्ने मन्त्री । सस्तो लोकप्रियताका लागि खाली खुट्टा मन्त्रालय जान सक्ने मन्त्री । केही हप्ताअगाडि यिनले पत्रकारहरूको हुर्मत काडेका थिए, अपशब्दका अपमानहरू थोपरेर । पत्रकारलाई जाड र मासुसँग जोडेका थिए ।
आफूले दुःख गरेर फत्ते गरेको जनसेवाको कामको क्रेडिट लिन खोज्नु स्वभाविक हो । तर सामाजिक सञ्जाल र समाचारहरूमा विकास गरेर देशको विकास भएको प्रचार गर्नु हावाको झोक्का मात्रै हो । हामीले वास्तविकतामा के चिज प्राप्त गरेका छौं त त्यो जगजाहेर छ । तपाईंहरू समाजिक सञ्जालका प्रचारहरू र कथित मिडियाका प्रचारहरूभन्दा आँखा बाहिर लैजानुहोस्, असली नेपालको मुहार त्यहीँ देखिन्छ । मानौं कि यस्ता प्रकारका मिथ्या प्रगति विरवण पढ्नकै लागि एकबारको जुनीमा जीवित छौं हामी, देख्न र अनुभूति गर्नका लागि होइन ।
केन्द्रीय मन्त्रीका कुरा छाडौं, प्रदेश सरकार र तिनका मन्त्रीका बकम्फुसे प्रगति विवरणहरू धेरै पढ्न, सुन्न पाइन्छन् । तर यथार्थमा त्यो हुँदै हुन्न, जुन तिनीहरूले समाजिक सञ्जालमा बडो हर्षका साथ शेयर गरेका हुन्छन् । साभार- लोकान्तर