
काठमाडौं । सरकारले घोषणा गरेको मध्यावधि निर्वाचन तत्काल फिर्ता लिन जनस्वास्थ्यकर्मीहरुले अपील गरेका छन् ।
जनस्वास्थ्यका क्षेत्रमा काम गर्दै आएका जनस्वास्थ्यकर्मीहरुले आइतबार एक संयुक्त विज्ञप्ति जारी गर्दै सरकारलाई तत्काल निर्वाचन फिर्ता लिन अपिल गरेका हुन् ।
जनस्थास्थ्यको क्षेत्रमा काम गर्दै आएका डा. शरद वन्त, डा. महेश मास्के, डा. बद्रीराज पाण्डे, डा. सुजनबाबु मरहट्टा, डा. अरुणा उप्रेती डा. समीरमणि दीक्षित, डा.बिन्ज्वला श्रेष्ठ, डा. राजेन्द्र बीसी र डा. कृष्णमान शाक्यले तत्काल निर्वाचन फिर्ता लिन संयुक्त अपिल गरेका छन् ।
सरकारद्धार गरिएको संसद विघटन र मध्यावधि निर्वाचनको घोषणाले जनस्वास्थ्यकर्मीहरु चिन्तित र मर्माहित भएको समेत जारी विज्ञप्तिमा उल्लेख छ ।
जारी विज्ञप्तिमा लेखिएको छ, “अस्पतालको शय्या नपाएर कोभिडका बिरामीहरु छट्पटाइरहेको बेला, आवश्यक औषधि र अक्सिजन नभएर स्वास्थ्यकर्मीले अथक प्रयास गर्दा गर्दै पनि अस्पतालको शय्यामा बिरामीहरुले ज्यान गुमाउनु परेको यो मार्मिक घडीमा जनताको जीवन रक्षामा केन्द्रित हुनुको सट्टा मध्यावधि निर्वाचनको घोषणा गर्नु नागरिकको जीवनप्रति सरकारको चरम गैर जिम्मेवारीपनको स्पष्ट उदाहरण हो।”
कोभिड-१९ को महामारीले स्वास्थ्यमा भएको संकटपूर्ण स्थितिलाई स्वीकार गर्नु र अर्कोतिर निर्वाचनको घोषणा गर्नु आफैंमा विरोधाभासपूर्ण रहेको जनस्वास्थ्यकर्मीहरुको भनाई छ ।












