
पाल्पा । पाल्पामा भएको बस दुर्घटनामा परि ३ महिला र ३ पुरुषगरी ६ जना यात्रुको मृत्यु भएको छ । जिल्लाको रिब्दीकोट गाउँपालिका–२ रिब्दीकोटमा आज अपराह्न भएको बस दुर्घटनामा परि ६ जनाको मृत्यु हुनका साथै १७ जना घाइते भएको प्रहरीले जनाएको छ ।
गुल्मीको मजुवाबाट बुटवल जाँदै गरेको लु १ ख ५९५२ नम्बरको बस रिब्दीकोट २ मा दुर्घटनामा परेको घटनास्थलबाट प्रहरी उपरीक्षक जनकबहादुर शाहीले बताए । उनका अनुसार मृतको पहिचान बाँकी छ ।
घाइतेहरु उपचारका लागि पाल्पाको तानसेन अस्पताल लगिएको छ।
घाइतेको अवस्था गम्भिर रहेकाले मृतकको संख्या बढ्न सक्ने प्रहरी उपरीक्षक शाहीले बताए। घटनास्थलमा प्रहरी र स्थानीयले उद्धार गरिरहेका छन् । बस सडकबाट तल भिरमा खसेको छ । दुर्घटना कसरी भयो भन्नेबारे अनुसंन्धान भइरहेको प्रहरीको भनाई छ ।











