
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेपालमा गणतन्त्र माओवादीले मात्रै नल्याएको बताएका छन् । वाईसीएल नेपालको तेस्रो राष्ट्रिय सम्मेलनलाई आज काठमाडौंमा सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले नेपालमा एक्लै माओवादीका कारण गणतन्त्र नआएको बताएका हुन् ।
उनले नेपालमा माओवादी लगायत तात्कालिन ७ दल र जनताको बलमा गणतन्त्र स्थापना भएको यर्थाथलाई राजावादीहरुले भ्रम छरिरहेको बताए । अध्यक्ष प्रचण्डले गणतन्त्रबारे भ्रम फैलाएर राजावादीहरूले माओवादीलाई एक्ल्याउने प्रयास गरिरहेको समेत बताए ।
‘देशमा राजतन्त्र फालेर गणतन्त्र ल्याउनमा माओवादी जनयुद्धको मुख्य भूमिका रहे पनि तत्कालिन ७ दल र सम्पुर्ण जनताको साथले गणतन्त्र सम्भव भएको हो’, प्रचण्डले भने ।
कांग्रेस–एमालेको एजेण्डा गणतन्त्र हुँदै नभएको तर प्रचण्डको पछि पछि लागेको भन्दै राजावादीहरुले जनतामा भ्रम फैलाइरहेको प्रचण्डको भनाई छ ।
उनले गणतन्त्रलाई यथास्थितिवाद र प्रतिगमनबाट रक्षा गर्दै समाजवादी गणतन्त्रतर्फ डोहोर्याउने चुनौती माओवादीसामू रहेको प्रष्ट पारे।सरकारका गलत कामहरुको कारण राजावादीहरुले टाउको उठाउने ठाउँ पाएको भन्दै प्रचण्डले त्यसकाविरुद्ध जनताले शसक्त रुपमा प्रतिवाद गर्ने बताए ।











