चिनीयाँ विदेशमन्त्री वाङ यी आज काठमाडौँ आउँदै


काठमाडौं । तीन दिने नेपाल भ्रमणका लागि चिनीयाँ विदेशमन्त्री वाङ यी आज काठमाडौँ आउँदै छन् ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको औपचारिक निमन्त्रणामा १९ सदस्यीय टोलीको नेतृत्व गर्दै वाङ नेपाल आउन लागेका हुन् ।

पाकिस्तान हुँदै नेपाल आउने वाङलाई परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्ने कार्यक्रम रहेको छ।

चिनियाँ राष्ट्रपति सी जिनफिङको सम्भावित नेपाल भ्रमणको पूर्वतयारीका रुपमा चिनीयाँ विदेशमन्त्री वाङ यी नेपाल आउन लागेको बताइएको छ । साथै द्विपक्षीय चासोका विषयमा पनि विभिन्न विषयमा छलफल हुने बताइएको छ ।

विदेशमन्त्री वाङले आज दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसंग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । उक्त भेटवार्तामा चीनले अघि बढाएको बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई), चिनियाँ सहयोगमा नेपालमा निर्माणाधीन परियोजनाबारे छलफल हुने परराष्ट्रमन्त्रालयले जनाएको छ । वाङको भ्रमण नेकपा सरकार गठन भएपछि चीनको तर्फबाट भएको उच्चस्तरीय भ्रमण हो ।

समकक्षी प्रदीप ज्ञवालीसँग भने चिनियाँ विदेशमन्त्री वाङको भेटवार्ता सोमबार हुने छ । परराष्ट्रमन्त्रीस्तरीय द्विपक्षीय वार्तामा तातोपानी र केरुङ नाकाका अध्यागमनमा सहजता, रसुवाको टिमुरेमा बनाइने ड्राइपोर्टलगायतका भौतिक संरचना, चीन-काठमाडौं रेलमार्ग निर्माणलगायतका विषयमा छलफल हुने एजेण्डा परराष्ट्रले तय गरेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार