
भारत । भारतमा शुक्रबार बेलुका भएको एयर इन्डियाको हवाई जहाज दुर्घटनामा पाइलटसहित १७ जनाको मृत्यु भएको छ । दुबईबाट आएको हवाईजहाज केरलाको कोझिकोड विमानस्थलमा अवतरणको क्रममा रनवेमा चिप्लिएर दुर्घटना भएको हो ।
दुर्घटनामा परी एक सय २३ जना घाइते भएका छन्, भने क्याबिन क्रुका चार जना सदस्य सकुशल छन् । दुर्घटनामा घाइते भएका यात्रुहरुको विभिन्न अस्पतालमा उपचार भइरहको छ । घाइतेमध्ये २० जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।
भारी वर्षाका कारण दुई पटक अवतरणको प्रयास असफल भएपछि तेस्रो पटकको प्रयासमा दुर्घटना भयो भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
हवाईजहाजमा चालक दलका सदस्यसहित १९० जना सवार थिए । यात्रुहरुमा १० जना बच्चा पनि थिए ।
विमानमा भिसाको म्याद सकिएका, जागिर गुमेका, घुम्न गएको बेला कोरोना महामारी सुरु भएपछि दुबईमै रोकिएका यात्रुहरु थिए ।













