
ललितपुर । ललितपुर जिल्ला अदालतमा कार्यरत नायब सुब्बा प्रेमिका तामाङ र कानुन व्यवसायी अमिर लामिछानेबीच सहमति भएको छ । बिहीबार ललितपुर जिल्ला अदालत र ललितपुर बार एसोसिएसनको तर्फबाट गठित वार्ता समितिको समन्वयमा विवाद अन्त गर्ने सहमति भएको हो ।
दुवै पक्षबीच सहमति भएपछि अब आन्दोलनका सबै कार्यक्रम फिर्ता लिने, अमिरविरुद्ध दायर मुद्दा प्रक्रिया पूरा गरेर मिलापत्र गरी टुंग्याउने र सामाजिक सञ्जाल लगायतमा विषयान्तर हुने गरी टिकाटिप्पणी नगर्ने सहमति भएको वार्ताटोलीले जनाएको छ । ।
सहमति पत्रमा अधिवक्ता अमिर लामिछाने र नायब सुब्बा प्रेमिका तामाङले हस्ताक्षर गरेकी छिन् । सहमतिको रोहवरमा ललितपुर जिल्ला अदालतका शाखा अधिकृत राम सजिवन महतो, अमृत घिमिरे, तर्कराज खनाल लगायतका छन् भने ललितपुर बारको तर्फबाट अध्यक्ष राम श्रेष्ठ, उपाध्यक्ष काबुकृष्ण महर्जन, सचिन छोनाम मोक्तानले हस्ताक्षर गरेका छन् ।
सहमति पत्रको पहिलो बुँदामा ‘मिति २०८०।०३।१३ मा ललितपुर जिल्ला अदालतमा सेवा लिनेदिने क्रममा इमानदारी पूर्वक कर्तव्य पालना गर्दागर्दै हुन गएको घटनाको वारेमा विभिन्न कार्यक्रम र विज्ञप्तिहरुमार्फत विषयान्तर भएको महसुश’ गरी सहमति गरेको उल्लेख छ । सहमतिपत्रको दोस्रो बुँदामा घट्नासँग सम्बन्धित दुवै पक्ष सो घटनालाई लिएर अब उप्रान्त द्वेष भाव नराखी विवादलाई अन्त्य गरी आ–आफ्नो क्षेत्रमा काम गर्ने उल्लेख छ ।
सहमतिसँगै अब शुक्रबारबाट ललितपुर जिल्ला अदालतमा नियमितरुपमा कामकाज हुने छ । विवादका कारण असार १७ गतेदेखि ललितपुर जिल्ला अदालतको कामकाज प्रभावित बनेको थियो ।
असार १३ गते अधिवक्ता लामिछानेले जिल्ला अदालत ललितपुरमा कार्यरत नासु प्रमिका तामाङलाई सामान्य विवादपछि कार्यकक्षमै कुटपिट गरेका थिए ।











