सभाको बीचमा
जुरुक्क उठ्यो आहुति
र कड्केर भन्यो–
‘तिमीहरू चुप लाग
अब म बोल्छु।
स्तब्ध भयो बूढो इतिहासकार
झसङ्ग भयो कहलिएको पण्डित
ट्वाँ पर्यो नाम चलेको समाजशास्त्री
अवाक् भयो राष्ट्रको ठूलो कवि
नर्भस भयो कम्युनिस्ट नेता
आहुतिले भन्यो–
‘अब
दुष्टहरूले
यो देशको तकदिर तय गर्न पाउँदैनन्’
सभा क्रुद्ध भयो–
‘कसले दियो यसलाई
हजामको छुराजस्तो मुख चलाउने अख्तियार ?
इतिहासका हरफ हरफमा
धर्मशास्त्रका श्लोक श्लोकमा
बडेबडे विद्वान्का तर्क तर्कमा
औँला उठाउँदै हिँड्ने यसको के अधिकार ?
यो अन्न खान्छ कि आगो?
तेजाब पिउँछ कि पानी ?
माटो आर्जिने बडामहाराजदेखि
माटो सुहाउँदो महाराजसम्मको
अदबै नराख्ने
यसको बेसोमती मुख
के हाम्रो सलतनतको प्रधान बैरी होइन ?’
यता
आहुतिको मुख थुन्न
व्यग्रतापूर्वक पट्टीको खोजी गरिरहेको छ सभा
उता
कालो वर्णका मान्छेहरू
मान्छे बन्न खोजिरहेका मान्छेहरू
द्वितीय लिंगी भनिएका मान्छेहरू
ताकिरहेछन् आहुतिको मुख
आहुतिको मुखसँगै
चलेनन् भने यी सारा मुखहरू
दुनियाँको तकदिर त फेरि पनि
तिनैले गर्ने छन् तय
जो हेर्नै चाहँदैनन् आहुतिको मुख।
-विनोद विक्रम केसी










