होलिकाको हत्या किन गरियो ?

सांस्कृतिक अपहरणमा पर्दै फागु पूर्णिमा

बसन्त ऋतुको आगमनमा रंग, अबिर र पानी खेलेर मनाइने फागु पुर्णिमा पहाडी र हिमाली जिल्लामा मनाइयो । भलै यो पटक कोरोना भाइरस संक्रमण बढ्न सक्ने कुरालाई मध्यनजर गर्दै सार्वजनिक रुपमा भेला भएर नखेल्न नेपाल सरकारले सचेत गराएको थियो । त्यसैले यसपटक फागुको रौनक पहाडमा खासै हुन सकेन । तराईमा भोलीपल्ट फगुवा वा होली मनाइने गरिन्छ ।

नेपाल विविध भाषा–भाषी र जात–जातीको देश हो । यहाँ विविधतापूर्ण सांस्कृतिक उत्सवहरु मनाइन्छ । यो देश दुई भिन्नाभिन्नै संस्कृति सम्पन्न दुई छिमेकीहरुको मध्यमा छ । त्यसैले हाम्रो संस्कृतीमा दुबै देशको मिश्रण पाइन्छ । हामी कहाँ मनाइने सांस्कृतिक परम्परा र उत्सव मोहन्जादारो, हडप्पा तथा अशोककालीन छन् भने केही पर्वहरु भर्खरै हुर्किदै गरेका इशाइ धर्मसँग सम्बन्धित पनि छन् । तर हजारौं वर्षदेखि मनाइने विभिन्न यस्ता उत्सवले सांस्कृतिक रुपमा विश्वभरि छरिएका नेपाली भाषीलाई बाँधेर राखेको छ ।

यस्ता कतिपय उत्सव र परम्पराहरु धेरै त हाम्रो मौलिक छन् । त्यसमध्ये फागु पूर्णिमा पनि हाम्रो मौलिक सांस्कृतिक उत्सव हो । लामो समय जाडोले कठाग्रिंएको पहाडी र हिमाले भेगका बासिन्दाहरुमा बसन्त ऋतुको आगमन हुनु हर्षोल्लासको कुरा हो । त्यसैले हरेक फागुन महिनाको पुर्णिमामा रंग, अबिर, पानी खेलेर बसन्तको स्वागत गर्न थालिएको हो भन्ने सहज अनुमान गर्न सकिन्छ । तर यसलाई विगत केही वर्षदेखि भारतीय होली पर्वले मिच्दै लगेको छ । नेपालीको मौलिक चाड दसैं जस्तै यो पनि भारतीय हिन्दू धर्मको सांस्कृतिक अपहरणमा पर्दै गएको छ ।

मूलतः नेपाल प्रकृतीपूजक देश हो । बौद्ध धर्म यहाँको माटोमा जन्मिएको धर्म हो । जबकी हिन्दू धर्म भारतबाट आयातित धर्म हो भन्ने कुरा यहाँका सौरभ लगायतका लेखकले भन्ने गरेका छन् ।

हिन्दूहरुको प्रायः चाड–पर्व आर्यको महिमा मण्डन, उनिहरुको विजय र अनार्यहरुको अपमान तथा पराजयमा आधारित छ । त्यसैले हिन्दू पर्वमा छल, कपट, अत्याचार, अमानवीयता, वैमनस्य, हिंसा जस्तो कुराहरु छन् । यसको मूल उद्धेश्य यहाँका सबै जाति बिच एकता हुनु नदिने तथा ‘फुटाऊ राज गर’को सिद्धान्त अपनाउनु नै हो । यसैको कडि स्वरुप नेपाली मौलिक चाडपर्वहरुलाई जबरजस्ती हिन्दूकरण गर्ने प्रयत्न भइरहेको छ ।

फागु पूर्णिमा, होलीका वा पुतना वध ?

फागु पूर्णिमालाई होली भन्न थालिएको छ । होलीको कथा यस्तो छ – हिरण्यकश्यप नामका एकजना पासी राजा थिए । उनकी छोरी होलिकालाई उनकै भाइ प्रह्लादलाई प्रयोग गरेर ब्राह्मणहरुले धोकापूर्वक हत्या गरे । त्यही हत्या भएको खुसियालीमा होली पर्व मनाउन थालियो । सुरुमा यसलाई शुद्रहरुको चाड भन्ने गरिन्थ्यो । अचेल यसलाई सबै हिन्दूले मनाउन थालेका छन् ।

त्यसैगरी होली पर्वलाई भगवाना कृष्ण र पुतनाको कथासँग पनि जोडिएको छ । कथा अनुसार पुतनाले आफ्नो स्तनमा विष लगाई कृष्णलाई पियाउन थालिन तर बालक कृष्णले पुतनाको रगत नै चुसिदिएर मारिदिए ।

यद्दपी फागु पूर्णिमालाई अपहरण गर्ने मनसायले होलिका वा पुतना वधको कथा जोडियो तर धर्मग्रन्थमा यसै समयमा दुवै घटना जोडिदिनाले यसको मौलिकता नष्ट हुन सकेन ।

होलीको दिन अश्लिलता र असभ्यताले सिमा काट्छ

भन्नका लागि त होलीले भेदभाव र मनमुटाव हटाइ भाइचाराको भावना बढाउँछ भनिन्छ । तर होली पर्व मनाउने क्रममा मादक पदार्थ सेवन गरेर अनुहार समेत चिन्न नसक्ने बनाएपछि धेरै जसो आपराधिक मनस्थितीका मान्छेलाई अपराधकर्म गर्न उक्साउँछ यस्ता पर्वले ।

जगजाहेर छ, होलीको दिन चरित्रहीनता, असभ्यता र अनैतिकताले सीमा काट्छ । रंग दल्ने निहुँमा स्त्रीहरु माथि छेडछाड गर्नु, रक्सी, भाङ, धतुरो खाएर मुखमा आएजति फोहोरी शब्द बोल्नु आमकुरा हो । जसलाई नेपाली समाजले यो समयमा सहजै पचाइरहेको हुन्छ ।

बुद्धलाई पनि होली पर्वले सताएको थियो

होली पर्व बुद्धकाल अघि देखिकै हो भन्ने कुरा विभिन्न बौद्ध ग्रन्थमा होलीको उल्लेख हुनुले प्रष्ट पार्छ । यो पर्वमा अश्लिलता र असभ्यताले हद नाघ्न थालेको भर्खरैको घटना होइन । महामानव बुद्धलाई पनि होलीको समयमा हिंडदा गाली–गलौज गर्ने, हिलो छ्याप्ने काम उनका विरोधीहरुले गर्ने गर्थे । त्यसैले बुद्धले होलीलाई ‘असभ्यहरुको पर्व’ भन्ने गर्थे । बौद्धहरुले असभ्यहरुको पर्व भन्ने हुनाले ब्राह्मणहरुले आफू चोखो हुने मनसायले यसलाई शुद्रहरुको पर्व भन्न थाले हुनन् ।

होलीको समयमा आफुलाई मन नपरेको मान्छेलाई गाली–गलौज गर्ने, उनिहरुको छोरी–चेली माथि हात हाल्ने कामको निरन्तरता बुद्धकालदेखि अहिले पनि जारी छ । भारतमा होलीको समयमा कबीरलाई गाली गर्दै अश्लील भाषामा कबिरा गाइन्छ ।

बाटोमा हिँड्न सफेद पोसाकधारी महिलाहोस् वा पुरुष नालिको हिलो, फोहोर पानि छ्याप्ने, हानिकारक स्थायी रंगले पोतिदिने जस्तो क्रियाकलाप गरिन्छ । अरुको घरमा रंग मिसिएको लोला हानेर सिसा फुटाइन्छ, टाटेपाटे रंग बनाइनु आमप्रचलन भएको छ ।

होलिकाको हत्या किन गरियो ?

पासी राजा हिरण्यकश्यपको पालामा पनि होलीको नाममा अश्लिलता, लुट, अभद्रता जारी थियो । ‘जय श्रीराम’को नारा लगाउनेहरुले होली आउनुपूर्वको दश दिन अगाडि देखि नै गुण्डागर्दी र असभ्यता सुरु गर्थे । भने वैदीक यज्ञको नाममा अर्काको गाई–घोडा तथा अरु पशु लुटेर यज्ञको आगोमा घिउ, जौं, तिल हालेर पोलेर खाने गर्थे । त्यसको धुँवाले पुरै वातावरण श्वास फेर्न लायकको रहँदैनथियो । धर्मको नाममा गरिने त्यस्ता कुकृत्यलाई राजा हिरण्यकश्यपले रोक लगाइदिए । तर उनलाई विष्णुले सिंहको मुखौटा लगाएर छलपूर्वक हत्या गरिदिए । यो हत्याको बेला हिरण्यकश्यपका पुत्र प्रह्लाद सानै थिए । सानैमा उनले अब राजगद्दी सम्हाल्नु पर्ने भयो । तर त्यसै बखत उनकी दिदी होलिका ठूली भइसकेकी थिइन् । केही समय पछि नै विष्णु लगायत कपटीहरुको होलिकाले भण्डाफोर गर्ने निश्चित भएको थियो । त्यसैले उनलाई पनि कपटपूर्वक आगोमा घचेटेर हत्या गरियो ।

यसै घटनाको सम्झना स्वरुप हरेक साल होलिका दहन गर्न सुरुवात गरियो । जसलाई गैह्रआर्यले समेत धुमधामसँग भाग लिने गरेका छन् ।

फागु पूर्णिमालाई फागु नै रहन दिऔं

होली र फागु पूर्णिमा मनाउने समय एक दिनको मात्र फरक छ । तर यसले आम नेपालीजनमा ‘होली’ भन्नु वा ‘फागु’ भन्नुको दोधारमा पारिदिएको छ । फागु पूर्णिमामा विशुद्ध रुपले ऋतुसँग सम्बन्धित छ भने भारतबाट आयातित होलीमा हत्या, छल, कपट र बैमनस्यताको इतिहास जोडिएको छ । त्यसैले सम्पूर्ण नेपालीको मौलिक पर्व फागु पूर्णिमालाई फागु पर्व नै भनौं, न कि होली । -समयबद्ध साप्ताहिकबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार