
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीको पारिवारिक विवरण भरेर राष्ट्रिय जनगणना २०७८ सुरु गरिएको छ । केन्द्रीय तथ्यांक विभागबाट गएको गणकको टोलीले राष्ट्रपति भण्डारीको परिवारिक विवरण संकलन गरेर जनगणना देशव्यापी रुपमा सुरु गरेको हो ।
“मेरो जनगणना, मेरो सहभागिता” नारासहित आजदेखि सुरु भएको जनगणना २०७८ मंसिर ९ गतेसम्म चल्नेछ। मुलुक संघीय संरचनामा गएपछि पहिलोपटक जनगणना सुरु भएको हो ।
गणक टोलीले राष्ट्रपति भण्डारीको परिवारिक विवरण भरेपछि उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री शेरबहादुर देउवाको परिवारको जनगणना फाराममा भर्ने कार्य भइरहेको छ। त्यसपछि आजै प्रमुख प्रतिपक्ष एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा जनगणना हुने विभागले जनाएको छ।
जनगणनाका लागि देशभर ८ हजार ५ सय सुपरीवेक्षक र ४० हजार गणक कर्मचारी खटाइएका छन् । एक जना गणकले कम्तीमा दिनमा १२ परिवारको लगत लिनुपर्ने हुन्छ । जनगणनाका क्रममा प्रत्येक परिवारलाई ८० वटा प्रश्न सोधिँदै छ ।
नेपालमा २०१८ सालदेखि अन्तर्राष्ट्रिय मानक तथा वैज्ञानिक पद्धतिअनुसार नेपालमा प्रत्येक १० वर्षमा जनगणना हुँदै आएको छ ।











