
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बाँकी काम निर्धारित समयमा सम्पन्न गर्न निर्देशन दिएका छन् ।
आज आयोजनास्थलमा अनुगमनका क्रममा सुनकोसी गाउँ पालिकामा बृफिङ लिएपछि प्रधानमन्त्री प्रचण्डले सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बाँकी काम निर्धारित समयमा सम्पन्न गर्न निर्देशन दिएका हुन् ।
उनले आयोजनामा आउन सक्ने संभावित समस्याको पहिचान गरेर त्यसलाई समयमै सल्टाउन पनि निर्देशन दिएका छन् ।
प्रधानमन्त्री प्रचण्डले आयोजनामा राम्रो काम गर्ने कर्मचारीहरूको अभिलेख व्यवस्थित गरी दण्ड र पुरस्कारको ठोस कार्ययोजना निर्माण गर्नसमेत आयोजना प्रमुखलाई निर्देशन दिएका छन् ।
सुरुङमार्ग बाहेक अन्य निर्माण कार्यहरू ब्यारेज, पावर हाउस, इलेक्ट्रोमेकानिकल, ट्रान्समिसन लाइन, नदी नियन्त्रण र सामाजिक विकासको कार्यहरू पनि उच्च प्राथमिकताका साथ समयमै सम्पन्न गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री प्रचण्डले कार्ययोजना एवं खरिद गुरूयोजनाले निर्दिष्ट गरेअनुरूपका सम्पूर्ण कार्यहरू निर्धारित समयभित्रै पूरा गर्न आग्रह गरेका छन् ।
तराई मधेशमा बाह्रै महिना सिँचाइ सुविधा पुर्याउने र बिजुली पनि उत्पादन गर्ने उद्देश्यका साथ सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना सुरु गरिएको हो । सुरुङको आज हुन लागेको ब्रेक थ्रुलाई प्रत्यक्ष हेर्न प्रधानमन्त्री प्रचण्ड, मन्त्रीहरु, नेपालका लागि चिनियाँ राजदूत र उच्चपदस्थ कर्मचारी र स्थानीय जनप्रतिनिधिहरु सिन्धुलीमा भेला भएका छन् ।
२०७९ साल असोज २८ गतेदेखि निर्माण सुरु गरिएको सो आयोजनाको सुरुङ २२ महिनाभित्र ब्रेक थ्रु गर्ने लक्ष्य राखिएको भए पनि ३ महिना २ दिनअघि नै सुरुङ ब्रेक थ्रु हुन लागेको आयोजना प्रमुख मित्र बरालले बताए ।
योजनामा कुल १३.३ किलोमिटर लामो सुरुङ निर्माण हुनेछ ।
चिनियाँ कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ ग्रुपले सुरुङ खन्ने जिम्मा पाएको थियो ।










